लुम्बिनिमा प्रदूषण घटाउने उद्देश्यले ल्याइएका विद्युतीय बस काठमाडौंमा !
लुम्बिनिका पर्यटन व्यवसायी लीलामणि शर्माले फेसबुकमा असन्तुष्टि जाहेर गरेका छन, ‘कहीँ नभएको जात्रा लुम्बिनी विकास कोषमा देखियो ।’ यहाँ प्रदूषण घटाउने उद्देश्यले ल्याइएका विद्युतीय बस काठमाडौंमा सञ्चालनपछि उनी दिक्दार बनेका हुन् । लुम्बिनी प्रदूषणको चपेटामा परेपछि विद्युतीय बस चलाउने योजना बनेको थियो । त्यसको तयारी भइरहेका बेला ती बस काठमाडौंमै चलेको उनले बताए ।

भैरहवा भन्सार कार्यालयमा रहेका बस गत आइतबार ट्रकमा राखेर काठमाडौं पुर्याइएको थियो । मंगलबार प्रधानमन्त्री केपी ओलीले बेलुन उडाएर तिनै बसको उद्घाटन गरे । उनीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृतिमन्त्री रवीन्द्र अधिकारी र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पुल्चोकबाट सिंहदरबार बिजुली बस चढेर पुगे । बस काठमाडौं लगिएपछि यहाँ विरोध सुरु भएको छ । लुम्बिनी विकास कोष बोर्डले कुनै निर्णय गरेको छैन ।
प्रधानमन्त्री कार्यालयबाट बस काठमाडौं लैजान दबाब आएको स्रोतले जनाएको छ । उपल्लो स्तरबाट दबाब आएको बारे कोषका पदाधिकारीले मुख खोल्न मानेका छैनन् । ‘महिनाअघिदेखि नै दबाब आएको थियो,’ कोषका एक पदाधिकारीले भने, ‘दबाब थेग्न सकेनौं ।’ बहुमत प्राप्त शासनसत्ता भएकासँग जोरी खोज्नु भनेको आफंै एक्लिनु भएकाले चुप लागेको उनले बताए ।
धूवाँ, धूलो र ध्वनिले प्रदूषित विश्व सम्पदास्थल लुम्बिनीलाई जोगाउन एसियाली विकास बैंक (एडीबी) को सहयोगमा ती बस भित्र्याइएको हो । डेढ महिनाअघि मात्र चिनियाँ कम्पनीले बस यहाँ ल्याएको थियो । बाँकी आउने क्रममा छन् । एडीबीको ३० करोड अनुदानमा सोलार प्रविधिबाट चार्ज हुने ५ वटा ठूला बस र ११ वटा जिप भ्यान यहाँ आउँदै छन् ।
ती बस राजधानीमा साझा यातायातले सञ्चालन गर्नेछ । ‘यहाँका बस काठमाडौंमा सञ्चालन हुनु दु:खद् हो,’ सिद्धार्थ होटल एसोसिएसन अफ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘तुरुन्त फर्काउनुुपर्छ ।’ प्रदूषणले दिनानुदिन यहाँको पर्यटन व्यवसाय खस्किरहेको उनले बताए ।
राज्यले लुम्बिनीको प्रदूषण न्यूनीकरण गर्नुपर्ने ठाउँमा बस लगेर बढावा दिएको आरोप लगाए । बस अत्याधुनिक छन् । एउटा बसको मूल्य करिब २ करोड पर्छ । ढोकामा ह्वीलचेयरका लागि लिफ्टको व्यवस्था छ । बसभित्र पनि ह्वीलचेयरका लागि ठाउँ छुट्याइएको छ । ‘प्रदूषण कम गर्न र पर्यटन प्रवद्र्धनका लागि आएको बस काठमाडौं लग्नु राम्रो होइन,’ अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘यसले सरकारको लुम्बिनीप्रतिको दृष्टिकोण उदांगिएको छ ।’
‘बस काठमाडौं गएकोबारे जानकारी छैन,’ लुम्बिनी विकास कोषका सदस्य अम्बिकाप्रसाद कोहरले भने, ‘बोर्डको निर्णय नभई लैजान मिल्दैन ।’ दबाब थेग्न नसक्दा लगिएको हुन सक्ने उनले बताए । ‘समाचारमा आएजस्तो लुम्बिनी विकास कोषको आग्रहमा बस काठमाडौं गएको होइन,’ कोषका एक अधिकृतले भने, ‘साझा यातायातले भ्रम फिजाउन खोजेको छ ।’
बस काठमाडौं लगिएको विषयमा कोषको आधिकारिक धारणा बैठक बसेरमात्रै सार्वजनिक गरिने निमित्त सदस्य–सचिव तथा योजना व्यवस्थापक सरोज भट्टराईले बताए । ‘बसको टेन्डर भुक्तानी पर्यटन मन्त्रालयले गरेकाले उसको चासो हुनु स्वाभाविक हो,’ उनले भने, ‘तर, बस लुम्बिनी फर्किनेमा आशावादी छु ।’ बिजुली बसका लागि ठूलो चार्जिङ स्टेसन आवश्यक पर्ने उनले बताए । त्यस्तो चार्जिङ सेन्टर लुम्बिनीस्थित संग्रहालय छेउमा निर्माण गर्न ठेक्का प्रक्रियामा छ । ‘त्यसका लागि ११/१२ करोड रुपैयाँ खर्च लाग्छ,’ भट्टराईले भने, ‘जुन अन्यत्र तत्काल बनाउन सम्भव छैन ।’
बस अहिले काठमाडौं गए पनि पछि यहाँ फर्किने उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले बताए । ‘सरकारमा बस्नेले बस कसको हो भन्ने बुझ्न सकेनन्,’ उनले भने, ‘त्यसैले समस्या भयो ।’ लुम्बिनी आएको बस पर्यटकलाई लक्षित गरी सञ्चालनको रुटसमेत बनाइसकिएको छ । बुद्धस्थल परासीको रामग्रामदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तिलौराकोट रुट बनाइएको छ । त्यस्तै बस उपलब्ध भए लुम्बिनीबाट सौराहा, काठामाडौं र पोखरासम्म पनि संचालन गरिने बताइएको छ ।
प्रकाशित : कार्तिक ९, २०७५ ०७:४२ कान्तिपुर ।