तमू समाज इजरायलको आयोजनामा ३ दिने तमू (गुरुङ) भाषा, लिपि प्रशिक्षण।
होलीडे खबरः नेपालका विभिन्न आदिवासी जनजाति समुदायको लोप हुँदै गरेका आ-आफ्ना मातृ भाषा, लिपिहरुको संरक्षण तथा सम्बर्धन गर्न विभिन्न अभियानहरु संचालन भईरहेको देख्न सकिन्छ। त्यही क्रममा तमू (गुरुङ) जातिको प्रवास संगठन तमू समाज इजरायलले तीन दिने तमू (गुरुङ) भाषा, लिपि प्रशिक्षण जुम भर्चुअल मार्फत संचालन गरिरहेको छ। तमू भाषा, लिपि अभियानता भिम गुरुङ प्रशिक्षक रहेको उक्त प्रशिक्षण कार्यक्रमको पहिलो दिन २०७८ असोज ८ गते सम्पन्न गरेको छ। हरेक दिन २ घण्टा संचालन हुने कक्षामा पहिलो दिन उत्साहजनक सहभागिता रहेको आयोजककी अध्यक्ष खुशी गुरुङले बताएकी छिन।
असोज ८, ९ र १० गते नेपाली समय अनुसार साँझ ६ः०० बजे बाट संचालन हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा आमन्त्रित तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले आयोजकलाई धन्यवाद व्यक्त गर्दै सबै तह र तप्का बाट यस्ता खालका कार्यक्रमहरु आयोजना गरेर तमू (गुरुङ) भाषालाई संरक्षण तथा सम्बर्धन गर्न सहयोग पुर्याउँन आह्वान गरेका छन्। त्यसो त गत भदौ २१ गते भाषा आयोगले नेपालमा १ प्रतिशत भन्दा धेरै वत्ता भएका जातिहरुको १२ नेपाली मातृ भाषाहरुलाई संविधानमा व्यवस्था भए बमोजिम प्रादेशिक कामकाजी भाषा बनाउँन सकिने भनि आधारहरु सहित भाषा आयोगले प्रधानमन्त्रीलाई सिफारिस बुझाए पनि अहिले सम्म सरकारले कुनै निर्णय गर्न नसक्दा सम्बन्धित पक्षहरु सशंकित भएका छन्।
